लायन्स क्लब अफ पोखरा अन्नपूर्णले पोखरा लेखनाथ महानगरपालिका वडा नं. १८ सराङकोटमा महिलाहरुको लागि दोस्रो चरणको आय आर्जनको लागि गुडिया बनाउने तालिम सम्पन्न गरेको छ । तालिममा स्थानीय २० जना महिलाहरुको सहभागीता रहेको क्लबका अध्यक्ष लायन अर्जुन पोखरेलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले क्लबले महिलाहरुको लागि आय आर्जनको गुडिया बनाउने तालिमको आयोजना गरेर सह्रानीय कार्य गरेको बताए । आचार्यले क्लबले आफ्नो वार्षिक कार्यक्रममा यस्ता कार्यक्रम रहेको बताउँदै अन्नपूर्ण लायन्सले गरेको कार्यबाट आफूलाई ठुलो हौसला मिलेको बताए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष ध्रुब श्रेष्ठले लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र फोरडेज सेल्फ रिलायन्स सपोर्ट फर नेपालको बारेमा चर्चा गरेका थिए । श्रेष्ठले अन्नपूर्ण लायन्सको संयोजनमा फोरडेजबाट स्थायी तालिम केन्द्र निर्माण र फोरडेज रेष्टुरेन्ट निर्माण गरेको र सोको आम्दानी समुदायमा खर्च गरिएको बताए ।

समापन कार्यक्रममा प्रशिक्षार्थी रश्मि भण्डारी, शान्ति सम्झना आमा समूहका अध्यक्ष पार्वती पहारी लगायतले तालिमको बारेमा बोलेका थिए । क्लबका अध्यक्ष अर्जुन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सोनाम साङपोले क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी गराउँदै महिलाहरुको आयआर्जनको लागि गुडिया बनाउने तालिम सञ्चालन गरेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *